काठमाडौं, मंसिर ९ - नेपाली कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने पुरानो विवाद समाधान नहुँदै नयाँ तनाव सुरु भएको छ।
माघ ११ को राष्ट्रियसभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर प्रयोग भएपछि पार्टीभित्र नेतृत्व र अधिकारको बहस पुनः उग्र बनेको हो।
दल दर्तामा देउवाको हस्ताक्षर प्रयोग हुनु आगामी चुनावमा टिकट वितरण फेरि उनको हातमै रहने संकेतको रूपमा व्याख्या गरिएको छ। यही कारण कांग्रेसभित्र महाधिवेशन छिटो गर्नुपर्ने आवाज बलियो बनेको छ।
कांग्रेस महामन्त्री गगन थापाले निर्वाचनअघि नै विशेष महाधिवेशन गरेर नयाँ सभापतिको हस्ताक्षरबाट आयोगमा निर्णय पठाइने दाबी गरेका छन्। उनका अनुसार विधानअनुसार समयमै नेतृत्व परिवर्तन हुनेछ र पार्टी पुरानै हस्ताक्षरमा चुनावमा जाने छैन।
देउवाले अघिल्लो महिनामा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट हट्ने संकेत गरे पनि आयोगमा दर्ता भएको दलको प्रतिवेदनमा सभापतिका रूपमा उनको नाम देखिनुले उनी अझै शक्ति केन्द्रमै रहेको सन्देश दिएको कांग्रेसभित्रका नेताहरू बताउँछन्।
संस्थापन पक्षले निर्वाचनभन्दा अघि महाधिवेशन हुन नहुने अडान लिइरहेका बेला विपक्षी समूह भने विशेष महाधिवेशन टारे पार्टी अघि बढ्न नसक्ने ठान्दै नेतृत्व परिवर्तनको दबाब बढाइरहेको छ।
प्रतिक्रिया दिनुहोस