१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अधिवेशन सम्पन्न भएका केही महिनामै युवा शक्ति कुवेतको पहिलो सामाजिक कदम : डिसेम्बरभर ‘सरसफाइ ’ अभियान सञ्चालन



  • सिमोन भट्टराई
  • ४ महिना अघि
  • पाठक संख्या ६२०
  • कुवेत सिटि - कुवेतमा रहेका नेपाली समुदायबीच आपसी एकता, सामाजिक उत्तरदायित्व र श्रमिकहितका मुद्दालाई सशक्त रूपमा अगाडि ल्याउने उद्देश्यसहित स्थापना भएको युवा शक्ति कुवेत केही महिना अघि मात्र परिकल्पित संस्था हो। प्रारम्भिक तयारीपछि गत नोभेम्बर १४ मा सम्पन्न अधिवेशनसँगै संस्थागत संरचना औपचारिक रूपमा स्थापना भई संस्थाले आफ्नो यात्रालाई स्पष्ट दिशा दिएको छ।

    अधिवेशन सम्पन्न भएको थोरै अवधिमै नै संस्थाले पहिलो सामाजिक अभियान सञ्चालन गर्ने अवसर पाउनु पदाधिकारी तथा सदस्यहरूका लागि अत्यन्तै उत्साहप्रद, प्रेरणादायी र गर्वको विषय बनेको छ।

    संस्थाको मूल उद्देश्य कुवेतमा रहेका नेपाली श्रमिकहरूको आवाज, समस्या र प्रतिनिधित्वलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउनु हो। तर यससँगै प्रवासमा रहेका नेपालीहरूको सामाजिक उत्तरदायित्वलाई पनि संस्थाले समान महत्व दिँदै आएको छ। यही सोचका कारण कुवेतमा सञ्चालन हुने विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउनु आजको आवश्यकता रहेको संस्थाले स्पष्ट्याएको छ।

    यही पृष्ठभूमिमा वातावरणीय संरक्षण, समुदायिक सहभागिता र सामाजिक सचेतना अभिवृद्धिको उद्देश्यले संस्थाले कुवेतमा हुने सरसफाइ अभियानमा औपचारिक रूपमा सहभागी हुने निर्णय गरेको छ। विश्वव्यापी रूपमा परिचित यो अभियानमार्फत नेपाली समुदायको नाम, छवि र पहिचान अझ उजागर हुने अपेक्षा गरिएको छ।

    कुवेत नगरपालिकाबाट आवश्यक कानुनी स्वीकृति भइसकेको छ, र कार्यक्रम पूरै डिसेम्बर महिनाभर हरेक शुक्रबार सञ्चालन हुनेछ। सरकारी स्वीकृतिसँगै नेपाली समुदायलाई पहिलोपटक आधिकारिक रूपमा यस्तो अभियानमा सहभागी हुने अवसर मिल्नु स्वयं समुदायका लागि ठूलो उपलब्धि मानिएको छ।

    स्थापना कालदेखि नै संस्थाले सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिँदै आएको छ। कुवेतमा एकपटक रक्तदानजस्तो पुण्य कार्य सफलतापूर्वक सम्पन्न गरिसकेको संस्थाको सामाजिक छवि दिन प्रतिदिन मजबुत हुँदै गएको छ।

    त्यसैगरी कुवेतमा रहेका श्रमिकहरू, विशेषतः पासपोर्टको म्याद सकिएकाहरूका लागि आवश्यक पर्ने अपोइन्टमेन्ट र फारम भरिने सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै संस्थाले निकै ठूलो सहयोग पुर्‍याइरहेको छ। यसले धेरै नेपाली श्रमिकहरूको समस्या समाधानमा प्रत्यक्ष मद्दत पुर्‍याएको छ।

    संस्थाले सबै सदस्य, शुभेच्छुक तथा कुवेतवासी सम्पूर्ण नेपालीहरूलाई आगामी सरसफाइ अभियानमा सक्रिय रूपमा सहभागी भई आफ्नो उल्लेखनीय योगदान जनाउन विशेष आह्वान गरेको छ। संस्थाले विश्वास व्यक्त गरेको छ कि सामूहिक प्रयास, एकता र सक्रिय सहभागिताबाट कुवेतमा नेपाली समुदायको पहिचान झन् सशक्त, सकारात्मक र अनुकरणीय बन्न सक्नेछ।