काठमाडौँ, मंसिर २९ - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी २०८२ साल फागुन ११, १२ र १३ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।
आइतबार सम्पन्न संघको स्टेरिङ कमिटी बैठकले महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा टुंगो लगाएको हो। सन् २०२६ फेब्रुअरी २३, २४ र २५ तारिखमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिन मिति सार्वजनिक गरिएको संघले जनाएको छ।
महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन आवश्यक संगठनात्मक र व्यवस्थापकीय निर्णयहरू पनि गरिएको उल्लेख छ।
राष्ट्रिय समन्वय समिति (एनसीसी)हरूबीच देखिएको विभाजन अन्त्य गरी संगठनात्मक एकता कायम गर्न स्टेरिङ कमिटीले पाँच सदस्यीय ‘एनसीसी एकता समिति’ गठन गरेको छ।
समितिको संयोजकमा गंगाधर गौतम र सह–संयोजकमा टीका गुरुङ (राधिका) चयन भएकी छन्। सदस्यहरूमा शनिकुमार ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का रहेका छन्।
एनआरएनएले विश्वभर रहेका गैरआवासीय नेपालीसँग संवाद र एकताको सन्देश प्रवाह गर्न क्षेत्रीय अन्तरक्रिया कार्यक्रमको मिति पनि तय गरेको छ।
कार्यक्रमअनुसार:
डिसेम्बर १९: मध्यपूर्व तथा अफ्रिका
डिसेम्बर २०: एसिया–प्रशान्त तथा ओसिनिया
डिसेम्बर २१: अमेरिकाज तथा युरोप
बैठकले सदस्यता सम्बन्धी समितिको आकार ५ बाट बढाएर ७ सदस्यीय बनाउने निर्णय गरेको छ। साथै, संगठनात्मक अनुशासनलाई प्रभावकारी बनाउन स्टेरिङ कमिटीका सबै सदस्यहरूले आगामी बैठकअघि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यलाई बैठकमा सहभागी नगराइने निर्णय पनि गरिएको छ।
संघले १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर रहेका गैरआवासीय नेपाली, राष्ट्रिय समन्वय परिषद् तथा सबै सरोकारवाला पक्षलाई सहयोग र सहभागिताका लागि अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस