काठमाडौं, पुस ७ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ का नेता तथा कार्यकर्तासँगको छलफलका क्रममा उनले सभापतिमा लड्ने मात्र नभई जित्ने दाबीसमेत गरे।
‘म १५औं महाधिवेशनका लागि पार्टी सभापतिको उम्मेदवार हुँ। म कांग्रेसको सभापति बन्छु, बन्न चाहन्छु,’ महामन्त्री थापाले स्पष्ट शब्दमा भने।
महाधिवेशन नेतृत्व परिवर्तनको औपचारिक प्रक्रिया मात्र नभई पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने अवसर भएको उनको भनाइ छ। उनले क्रियाशील सदस्यता नवीकरण र व्यवस्थापनमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए।
महामन्त्री थापाले सभापति शेरबहादुर देउवालाई समेत महाधिवेशन समयमै गर्नुपर्ने विषयमा आफूले निरन्तर ध्यानाकर्षण गराउँदै आएको बताए। पार्टी नेतृत्वप्रति संकेत गर्दै उनले भने, ‘समयमै महाधिवेशन सम्पन्न गर्न सकिन्थ्यो। तर कताकतै ढिलाइको संकेत देखिन थालेको छ। यो विषयमा हामी स्पष्ट छौँ र आवश्यक परे जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ।’
उनले नियमित वा विशेष जुनसुकै स्वरूपमा भए पनि महाधिवेशन हुनैपर्ने स्पष्ट पार्दै महाधिवेशन नगरी कांग्रेस निर्वाचनमा नजाने अडान दोहोर्याए।
प्रतिक्रिया दिनुहोस