१३ पुष २०८२ आईतबार | 28 Dec 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जुलुसले केही हुँदैन, चुनावमै होमिनु पर्छ : मन्त्री पुन



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ६७
  • काठमाडौं, पुस ८ - विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा भएको छलफल निष्कर्षमा नपुग्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजनीतिक दल र नागरिक समाजको भूमिकाप्रति असन्तोष व्यक्त गरेका छन्।

    राजनीतिक दल, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगको सहभागितामा करिब छ घण्टा चलेको बैठकमा प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने प्रस्तावमा सहमति जुट्न नसकेको हो। बैठकपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै छलफल परिणाममुखी नभएको बताएका छन्।

    उनका अनुसार बैठकमा समाधान खोज्नेभन्दा पनि भाषण र एक–अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति हावी भयो। दल तथा नागरिक समाजका नेतृत्वले छोटो अवधिको सरकारको कमजोरी देखाउँदै समय बिताएको र समस्याको दीर्घकालीन समाधानतर्फ ध्यान नदिएको उनले उल्लेख गरेका छन्।

    मन्त्री पुनले वर्तमान राजनीतिक अभ्यासले देशलाई गलत दिशातर्फ लैजाँदै गरेको टिप्पणी गर्दै अबको नेतृत्व पुरानै शैलीबाट सम्भव नभएको बताएका छन्। मुलुकलाई संकटबाट जोगाउन नयाँ सोच, साहस र ऊर्जा आवश्यक भएको भन्दै उनले नेतृत्व युवा पुस्ताले सम्हाल्नुपर्ने धारणा राखेका छन्।

    काठमाडौंमा प्रदर्शन र जुलुसले मात्र परिवर्तन नआउने उल्लेख गर्दै उनले युवाहरूलाई आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी भई प्रत्यक्ष राजनीतिमा होमिन आह्वान गरेका छन्। विदेशमा रहेका लाखौं नेपालीको अधिकारलाई बेवास्ता गर्दै सत्ता र शक्ति केन्द्रित राजनीति जारी रहे देश गम्भीर संकटमा फस्ने चेतावनी पनि उनले दिएका छन्।

    “परिवर्तन चाहिने हो भने चुनावी प्रक्रियामै उत्रिनुपर्छ, जुलुसले मात्र देश बन्दैन,” मन्त्री पुनको भनाइ छ।