१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनसरीको सीमा क्षेत्रमा सशस्त्रको गोली लागेर एक जनाको मृत्यु, अवस्था तनावग्रस्त



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ८५
  • सुनसरी, पुस १७ - सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय क्षेत्रमा तनाव फैलिएको छ। मृत्यु हुनेमा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साह रहेका छन्।

    स्थानीयका अनुसार बिहीबार राति करिब १ः३० बजे गोली चलेको आवाज सुनिएको थियो। बाहिर निस्कँदा वरपर सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिएको र एक व्यक्ति गोली लागेर ढलेको अवस्थामा फेला परेको उनीहरूको भनाइ छ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर–४ गण हेडक्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रण गर्ने क्रममा घटना भएको जनाएको छ। गण प्रमुख एसपी निर्मल थापाका अनुसार भन्सार छलिका सामान बोकेको अटो रोक्ने प्रयास गर्दा दुईवटा सफारी गाडीमा आएका व्यक्तिहरूले पहिले फायरिङ गरेपछि जवाफी कारबाही गरिएको थियो। सोही क्रममा पछाडिबाट चिनीका बोरा बोकेर आउँदै गरेको सिटी चालक विजय साहलाई गोली लागेको दाबी गरिएको छ।

    तर स्थानीयले सशस्त्र प्रहरीको दाबी अस्वीकार गर्दै घटनालाई ‘ज्यादती’को संज्ञा दिएका छन्। उनीहरूले सेटिङ नमिलेको निहुँमा सामान्य मजदुरलाई गोली हानी हत्या गरिएको आरोप लगाउँदै बिहानैदेखि लौकही क्षेत्रमा प्रदर्शन चर्काएका छन्।

    प्रदर्शनकारीहरूले मृतकको शव पूर्व–पश्चिम राजमार्गमा राखेर सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गर्नुपरेको जनाएको छ।

    घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयको आन्दोलन जारी रहेपछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उता, प्रशासनले आन्दोलनरत पक्षसँग वार्ताको तयारी गरिरहेको बताइएको छ।