१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मृत्यु भइसकेकाको नाममा भत्ता निकासा, वडा कार्यालयकै संलग्नतामा भ्रष्टाचार



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १०४
  • काठमाडौं, पुस २८ -मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरी रकम हिनामिना गरेको आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखा जिल्लाको मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष ईश्वर कोइरालासहित तीन जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

    आयोगका अनुसार वडाध्यक्ष कोइरालासँगै सोही वडा कार्यालयका तत्कालीन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाले सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा गम्भीर अनियमितता गरेका थिए। उनीहरूले मृत्यु भइसकेका व्यक्तिको नाममा किर्ते सही तथा औंठाछाप प्रयोग गरी भत्ता रकम निकालेर दुरुपयोग गरेको अख्तियारको ठहर छ।

    अनुसन्धानका क्रममा मृत्यु भइसकेका तर अभिलेखमा लगत कट्टा नभएका १४ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ता वितरण भरपाइमा वडाध्यक्ष कोइरालाले लाभग्राहीको स्थानमा आफ्नै दायाँ–बायाँ हातको बुढी औंलाको छाप लगाई ८ हजार रुपैयाँ भुक्तानी लिएको खुलेको छ।

    यस्तै, कार्यालय सहायक थापाले १० जना लाभग्राहीको हस्ताक्षरको महलमा आफ्नै दायाँ–बायाँ हातको माझी औंलाको छाप प्रयोग गरी १ लाख रुपैयाँ भुक्तानी लिएको पाइएको छ। तत्कालीन वडा सचिव उप्रेतीले पनि लाभग्राहीको हस्ताक्षरको सट्टा आफ्नै औंठाछाप प्रयोग गरी ६४ हजार रुपैयाँ निकालेको अख्तियारले जनाएको छ।

    अख्तियारका अनुसार उनीहरूले सरकारी कागजातमा किर्ते छाप प्रयोग गर्दै अभिलेख सच्याउने, केरमेट गर्ने तथा हेरफेर गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेका छन्। यस कार्यलाई भ्रष्टाचारजन्य अपराध ठहर गर्दै तीनै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।