१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सागर ढकालको निर्णय: डडेल्धुरामा उम्मेदवारी नहुने



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १५९
  • काठमाडौं, माघ ४ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी नदिने घोषणा गरेका छन्।

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय भइसकेको छ। यही सन्दर्भमा ढकालले आफू यस निर्वाचनमा डडेल्धुराबाट नउठ्ने स्पष्ट पारेका हुन्।

    यसअघि डडेल्धुराबाट चुनाव लडेका ढकालले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै उल्लेख्य मत प्राप्त गरेको स्मरण गराउँदै यसपटकको निर्णय राजनीतिक सन्देशसँग जोडिएको बताए।

    उनका अनुसार आफूले उठाउँदै आएको रूपान्तरण र पुस्तान्तरणको एजेन्डा निर्वाचन आयोगले कांग्रेस पार्टीबारे दिएको निर्णयसँगै सफल भएको ठहर गरेका छन्।

    ढकालले आगामी निर्वाचनमा गुल्मी वा रूपन्देहीमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने विषयमा पार्टीभित्र छलफल भइरहेको जानकारी दिए। ‘सम्भावना गुल्मी–१ बढी छ, यद्यपि रूपन्देहीका क्षेत्रबारे पनि संवाद चलिरहेको छ,’ उनले भने, ‘अहिलेसम्म अन्तिम टुङ्गो लागेको छैन।’

    कांग्रेस सभापति देउवाको उमेर र राजनीतिक यात्रालाई सम्मान गर्दै डडेल्धुराबाट पुनः प्रतिस्पर्धा नगर्ने निर्णय लिएको ढकालको भनाइ छ। ‘उहाँ अब विश्राम गर्ने चरणमा पुग्नुभएको छ,’ उनले भने, ‘यो निर्णय सम्मान र पुस्तान्तरण दुवैको संकेत हो।’