रौतहट, माघ १९ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट रौतहट–४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका गणेश पौडेलले शिक्षा सुधारलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाएका छन्। दुई विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका पौडेल लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा चिनिँदै आएका छन्।
शिक्षण पेशामा आउनुअघि नै उनले आर्थिक तथा सामाजिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका थिए। शिक्षाले समाजको सोच र संरचना परिवर्तन गर्न सक्ने विश्वाससहित उनले विद्यार्थीको भविष्य निर्माणमा निरन्तर योगदान पुर्याउँदै आएको स्थानीयले बताएका छन्।
१८ वर्षभन्दा बढी समय शिक्षकका रूपमा काम गरेका पौडेलले विद्यालयदेखि उच्च शिक्षासम्म देखिने व्यवहारिक समस्या नजिकबाट अनुभूति गरेका छन्। पाठ्यक्रमको सान्दर्भिकता, शिक्षक व्यवस्थापन, शैक्षिक पूर्वाधारको अभाव, विद्यार्थीको पहुँच र शिक्षाको गुणस्तरमा देखिएका कमजोरीहरू प्रत्यक्ष रूपमा बुझेका कारण शिक्षा सुधार उनको राजनीतिक प्राथमिकतामा परेको हो।
निर्वाचन अभियानअन्तर्गत उनी हाल रौतहट–४ का विभिन्न बस्तीमा पुगेर घरदैलो कार्यक्रम, नागरिक भेटघाट र अन्तरक्रियामार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। यस क्रममा उनले स्थानीय आवश्यकता अनुसारको शिक्षा नीति, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, गुणस्तरीय सार्वजनिक शिक्षा र शिक्षक–विद्यार्थीबीचको सकारात्मक सम्बन्ध विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संघीय संसदमा पुगेर रौतहटको शिक्षा प्रणालीमा दिगो र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको बताउँदै पौडेलले शिक्षा, नैतिकता र अवसरको समान पहुँचबिनाको विकास सम्भव नहुने धारणा राखेका छन्। शिक्षामा गरिने लगानीले मात्रै देशको दीर्घकालीन भविष्य सुरक्षित हुने उनको भनाइ छ।
शिक्षा क्षेत्रमा लामो अनुभव, सरल व्यक्तित्व र स्पष्ट दृष्टिकोणका कारण स्थानीय मतदातामाझ पौडेलप्रति विश्वास र चासो बढ्दै गएको देखिन्छ। शिक्षालाई राजनीतिक स्वार्थभन्दा माथि राखेर काम गर्ने उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्ने प्रयासमा उनी जुटिरहेका छन्।
प्रतिक्रिया दिनुहोस