२८ माघ २०८२ बुधबार | 11 Feb 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दार्चुलामा प्रहरी हवलदार हत्या प्रकरणः तीन जना नियन्त्रणमा, चार फरार



  • अञ्जना ढकाल
  • १३ घण्टा अघि
  • पाठक संख्या ४८
  • दार्चुला, माघ २७ - दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका छन्।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–४ का २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन्। घटनामा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका राजेन्द्र डडाल हाल फरार छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानमा अस्मिता बियर बारमा दिपिका पाललाई जिस्काएको विषयलाई लिएर विवाद सुरु भएको र सोही क्रममा प्रहरी हवलदार घर्तीमाथि कुटपिट भएको देखिएको छ। पक्राउ परेकी दिपिका आशिक पालकी कान्छी श्रीमती रहेको पनि प्रहरीले पुष्टि गरेको छ।

    पक्राउ परेकाहरूले आशिक पाल र उनका भाइले कुटपिट गरी हत्या गरेको बयान दिएका छन्। यद्यपि, उक्त बयानको थप परीक्षण र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जाँचमा घर्तीको टाउकोमा धारिलो हतियारको चोट देखिएको छ।

    घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र फरार अभियुक्तहरूलाई चाँडै पक्राउ गर्न प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।