काठमाडौँ, माघ २६ - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा देखिने तडक–भडक र लोकप्रियतावादले लोकतन्त्रलाई कमजोर बनाउने खतरा रहेको बताएका छन्। उनले विश्व साम्राज्यवादले पपुलिजमलाई माध्यम बनाएर विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध हस्तक्षेप गरिरहेको आरोप लगाए।
सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नयाँको नाममा सामाजिक सञ्जालमा ‘फन्डा’ गरेर मात्रै राजनीति सफल नहुने स्पष्ट पारे। उनका अनुसार त्यस्ता गतिविधिमा संलग्न शक्तिसँग ठोस योजना, नीति र दीर्घकालीन एजेन्डाको अभाव छ।
उनले विश्वका विभिन्न मुलुकमा देखिएको पपुलिजमको प्रभाव नेपालमा पनि दोहोर्याउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसका पछाडि भूराजनीतिक चलखेल रहेको दाबी गरे। “लोकतन्त्रमाथि भइरहेको यस्ता प्रहारको सामना गर्न नयाँ संकल्प, गम्भीर समीक्षा र जनताको पक्षमा उभिने शक्ति आवश्यक छ,” उनले भने।
प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी नै गणतन्त्र, संघीयता र सामाजिक न्यायजस्ता मूल्यहरूको नेतृत्वकर्ता भएको जिकिर गरे। ती विचारहरू अहिले पनि सान्दर्भिक र नयाँ रहेको भन्दै उनले ती एजेन्डालाई अघि बढाउने जिम्मेवारी नेकपाकै काँधमा रहेको बताए।
प्रतिक्रिया दिनुहोस