१२ बैशाख २०८३ शनिबार | 25 Apr 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चिताको दृश्य सुटिङ हुँदै थियो, सुनील थापा जीवनबाट विदा भए



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १२४
  • काठमाडौं, माघ २६ - फिल्म ‘राम नाम सत्य’ को क्लाइमेक्स दृश्य छायांकनका क्रममा दुर्लभ संयोग देखिएको छ। शुक्रबार राति सुनील थापालाई चितामा जलाउने दृश्य सुटिङ हुँदै गर्दा, थकानका कारण स्वयं थापाले छायांकन रोकेर भोलि बिहान गर्ने प्रस्ताव गरेका थिए।

    शनिबार बिहान ८ बजे उक्त दृश्य खिच्ने सहमति भए पनि, सुटिङ सेटमा उनको प्रतीक्षा भइरहँदा सुनील थापाको निधनको खबर आयो। हृदयघातका कारण ६८ वर्षको उमेरमा उनको मृत्यु भएको पुष्टि भयो, जसले सम्पूर्ण टिमलाई स्तब्ध बनायो।

    फिल्मका निर्देशक माइकल चन्दका अनुसार सामाजिक सञ्जालमार्फत आएको खबर सुरुमा विश्वास गर्न गाह्रो भयो। पुष्टि भएपछि छायांकन तत्काल रोकियो र सुटिङ स्थल शोकमा डुब्यो। ‘राम नाम सत्य’ नै सुनील थापाको अन्तिम सुटिङ बन्न पुगेको छ।

    नेपाली फिल्ममा खलनायकको भूमिकालाई नयाँ उचाइ दिएका सुनील थापा ‘चिनो’ को ‘राते काइँला’ पात्रबाट अत्यन्त लोकप्रिय बनेका थिए। बलिउड र नेपाली फिल्म दुवै क्षेत्रमा सक्रिय उनी ‘प्रेम गीत ३’, ‘गोर्खा पल्टन’, ‘अञ्जिला’ लगायत दर्जनौँ फिल्ममा देखिएका छन्।

    पर्दामा कठोर देखिए पनि वास्तविक जीवनमा सरल र भावुक रहेका सुनील थापाको निधनले नेपाली फिल्म क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ। उनका केही फिल्म अझै प्रदर्शन हुन बाँकी छन्, जसले दर्शकलाई उनको अभिनय पुनः सम्झाइरहनेछ।