१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१३४ रन बचाउन सकेन नेपाल, वेस्ट इन्डिजको सहज जित



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १८१
  • मुम्बई, फागुन ३ - आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

    लगातार तेस्रो हार बेहोरेसँगै नेपालको सुपर–८ पुग्ने सम्भावना अन्तिम खेलअघि नै समाप्त भएको हो। वेस्ट इन्डिज भने तीनै खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

    वानखेडे रंगशालामा टस जितेर बलिङ रोजेको वेस्ट इन्डिजले नेपाललाई ८ विकेटको क्षतिमा १३३ रनमा सीमित गर्‍यो। जवाफी ब्याटिङमा वेस्ट इन्डिजले १३४ रनको लक्ष्य १५.२ ओभरमै एक विकेट गुमाएर पूरा गर्‍यो। कप्तान शाइ होपले नटआउट ६१ रन बनाउँदै टोलीलाई सहज जित दिलाए भने शिमरन हेटमेयर ४६ रनमा अविजित रहे।

    नेपालको सुरुवात कमजोर रह्यो। ओपनर कुशल भुर्तेल पहिलो ओभरमै आउट भए भने कप्तान रोहितकुमार पौडेल ५ रनमा फर्किए। आसिफ शेख र आरिफ शेख पनि लामो समय टिक्न सकेनन्। सुरुवाती ६ ओभरमै तीन विकेट गुमाएको नेपाल दबाबमा परेको थियो।

    मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ५८ रनको अर्धशतक प्रहार गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाए। उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सोमपाल कामीसँग सातौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपालले १०० रन पार गर्‍यो। सोमपाल २६ रनमा अविजित रहे। बलिङमा जेसन होल्डरले चार विकेट लिँदै नेपाललाई नियन्त्रणमा राखे।

    अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाको हुनेछ। विश्वकपमा संघर्षपूर्ण प्रदर्शन गरे पनि नेपाली टोलीले केही सकारात्मक संकेत देखाएको छ, जसले आगामी प्रतियोगिताका लागि आशा जगाएको छ।