१४ फागुन २०८२ बिहिबार | 26 Feb 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हेटौँडामा ठक्कर दिई फरार ट्रक वीरगन्जमा फेला, चालक अझै फरार



  • अञ्जना ढकाल
  • १९ घण्टा अघि
  • पाठक संख्या ५०
  • काठमाडौँ, फागुन १३ - मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा मोटरसाइकललाई ठक्कर दिई फरार भएको मालवाहक ट्रक पर्साको वीरगन्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा दुई युवाको ज्यान गएको थियो।

    बुधबार बिहान अज्ञात सवारीसाधनले ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ठक्कर दिने सवारी मालवाहक ट्रक रहेको खुलेको हो।

    प्रहरीका अनुसार ग.२ ख ८९८ नम्बरको ट्रक वीरगन्ज महानगरपालिका–१३ स्थित प्रतिमाचोकमा रहेको एक ग्यारेजमा मर्मत गरिँदै गरेको अवस्थामा फेला परेको हो। दुर्घटनापछि क्षतिग्रस्त भाग मर्मत गर्न ट्रक ग्यारेजमा लगिएको थियो।

    पर्साका प्रहरी प्रमुख एसपी नरेश सुवेदीका अनुसार ट्रक नियन्त्रणमा लिइए पनि चालक भने फरार छन्। चालकले ‘भोला बडी बिल्डर्स’ नामक ग्यारेजमा ट्रक छाडेर भागेको खुलेको छ।

    घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले फरार चालकको खोजी तीव्र पारेको छ।