१४ फागुन २०८२ बिहिबार | 26 Feb 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तराई–पहाड–हिमाल छुट्याएर राजनीति गर्ने दिन सकिँदैछ : रवि लामिछाने



  • अञ्जना ढकाल
  • १८ घण्टा अघि
  • पाठक संख्या ३९
  • काठमाडौं, फागुन १३ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भौगोलिक क्षेत्रलाई आधार बनाएर राजनीति गर्ने प्रवृत्ति अब अन्त्यतिर पुगेको बताएका छन्। तराई, पहाड र हिमाललाई अलग–अलग देखाएर स्वार्थपूर्ति गर्ने राजनीति अब टिक्न नसक्ने उनको भनाइ छ।

    बुधबार जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शनपछि समर्थकहरूसँग बोल्दै उनले आफ्नो पार्टी कुनै एक क्षेत्रको मात्र प्रतिनिधित्व गर्ने दल नभई समग्र देशको विकास र समृद्धिको पक्षमा उभिएको स्पष्ट पारे। देशलाई टुक्र्याएर होइन, जोडेर अघि बढ्नुपर्ने उनले जोड दिए।

    लामिछानेले मधेसलाई अलग ढंगले प्रस्तुत गर्दै राजनीति गर्ने सोच पुरानो भइसकेको टिप्पणी गरे। जनताको प्रत्येक मतको सम्मान गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

    उनका अनुसार लामो समयदेखि विभेद र उपेक्षामा परेको मधेस क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम अघि बढाइनेछ। विशेषगरी धार्मिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै आर्थिक गतिविधि विस्तार गरिने उनले बताए।

    अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा उठाए पनि विभेदको सवाल पर्याप्त रूपमा सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै उनले यसपटक सुशासनसँगै विभेद अन्त्यलाई प्रमुख एजेन्डा बनाइने बताए। देशव्यापी एकता, समानता र विकास नै आफ्नो राजनीतिक लक्ष्य भएको उनको भनाइ थियो।