इटहरी, फागुन १२ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन सार्नेबारे भइरहेको चर्चामाथि प्रतिक्रिया दिँदै मिति परिवर्तन गर्नै परे चार दिनअघि सार्न सकिने बताएका छन्।
इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनबारे विभिन्न दल र समूहबाट उठिरहेका प्रस्तावप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्। पछिल्लो समय राजनीतिक वृत्तमा निर्वाचन सार्नुपर्ने आवाजहरू बढ्दै गएका छन्।
लामिछानेले निर्वाचन जति सक्दो समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै अनावश्यक अन्योल सिर्जना नगर्न आग्रह गरे। उनले आफ्नो पार्टी कुनै पनि निर्णयका लागि तयार रहेको उल्लेख गरे।
‘चुनाव सार्ने कुरा गर्नेहरूलाई भन्न चाहन्छु, सार्नै परे चार दिनअघि सारौँ,’ उनले भने, ‘हामी तयार छौँ, तर निर्णय स्पष्ट हुनुपर्छ।’
निर्वाचनको मिति परिवर्तनसम्बन्धी औपचारिक निर्णय भने अहिलेसम्म भएको छैन, तर राजनीतिक बहस भने तीव्र बन्दै गएको छ।
प्रतिक्रिया दिनुहोस