१३ फागुन २०८२ बुधबार | 25 Feb 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बिरामी बोकेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाग्रस्त, सातै जनाको ज्यान गयो



  • एजेन्सीको सहयोगमा
  • १७ घण्टा अघि
  • पाठक संख्या ४२
  • झारखण्ड, फागुन १२ - भारतको झारखण्ड राज्यमा बिरामी बोकेर दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटनामा परेको छ। सोमबार साँझ राँचीबाट उडेको विमान चतरा जिल्लामा खसेको हो। दुर्घटनामा विमानमा सवार सबै सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    दुर्घटनाग्रस्त विमान दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी–९० (भिटी–एजेभी) मोडलको थियो। उक्त विमानले बिरामीलाई थप उपचारका लागि दिल्ली लैजाँदै गर्दा दुर्घटना भएको हो।

    भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार विमान साँझ ७:११ बजे राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो। उडानपछि कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित भएको थियो र मौसम प्रतिकूल भएका कारण मार्ग परिवर्तनको अनुमति मागिएको थियो। तर साँझ ७:३४ बजेतिर वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व पुगेपछि रडार र सञ्चार सम्पर्क एकाएक टुटेको बताइएको छ।

    विमानमा ४१ वर्षीय सञ्जय कुमार, उनका सहयोगी विकास गुप्ता, चिकित्सक सचिन कुमार मिश्र, सहयोगी अर्चना देवी र धुरु कुमार तथा दुई क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंह सवार थिए। गम्भीर आगलागीमा परी घाइते भएका सञ्जयलाई उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लैजाँदै गर्दा दुर्घटना भएको जनाइएको छ।

    राँची विमानस्थलका निर्देशक विनोद कुमारका अनुसार खराब मौसम दुर्घटनाको प्रारम्भिक कारण हुन सक्ने अनुमान गरिएको छ। यद्यपि वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ। घटनाबारे छानबिन प्रक्रिया सुरु गरिएको छ।

    सन् २०१८ मा स्थापना भएको रेडबर्ड एयरवेजले सन् २०१९ देखि चार्टर तथा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ। पछिल्लो समय गैर–अनुसूचित उडान र नियामक संयन्त्रबारे उठिरहेका प्रश्नबीच भएको यस दुर्घटनाले सुरक्षा व्यवस्थामाथि थप बहस सुरु गराएको छ।