काठमाडौं, चैत्र २ - गंगबु क्षेत्रमा कुकुरमाथि अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुकुरलाई कुटपिट गरी जिउँदै खाल्डोमा पुरिएको आरोप लागेको हो।
गत शनिबार काठमाडौं महानगरपालिका–२६ बसपार्क नजिक भाडामा बस्दै आएका व्यक्तिहरूले कुकुरलाई बाँधेर घरभित्र लगेका थिए। त्यसपछि कुकुरलाई निर्ममतापूर्वक कुटपिट गरी गम्भीर घाइते बनाइएको बताइएको छ।
कुटपिटपछि कुकुरलाई खाल्डो खनेर जिउँदै पुरिएको आरोप छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पशु अधिकारकर्मीहरू घटनास्थल पुगेका थिए।
उद्धारकर्मीका अनुसार घरको कम्पाउन्डभित्र कुकुर पुरिएको अवस्थामा फेला परेको थियो। किन यस्तो गरिएको भन्नेबारे सोधपुछ गर्दा स्पष्ट जवाफ नपाएको उनीहरूले बताएका छन्।
घटनाबारे उजुरी परेपछि नयाँबजार प्रहरी चौकीले ललिता राना, राधिका श्रेष्ठ र रुपा ढुंगेललाई नियन्त्रणमा लिएको छ। घरधनी जगन्नाथ श्रेष्ठ भने सम्पर्कमा नरहेको बताइएको छ।
मुलुकी अपराध संहिता २०७४ अनुसार पशुपक्षीमाथि क्रूर व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। पशु मारेको ठहर भएमा तीन वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस