काठमाडौं, वैशाख ७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्रीको जिम्मेवारी दिएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने प्रस्ताव अनुमोदन गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
शाह यसअघि रास्वपाको केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए । पार्टीभित्र उनको लामो समयदेखि सक्रिय भूमिका रहँदै आएको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपामा प्रवेश गर्दा भूपदेव शाह पनि सचिवालय टोलीसँगै संलग्न भएका थिए । उनले मेयर बालेनका प्रमुख स्वकीय सचिवका रूपमा समेत काम गरिसकेका छन् ।
पार्टीभित्र बालेन शाहका निकट सहयोगीका रूपमा चिनिने भूपदेव संगठनात्मक गतिविधिमा सक्रिय मानिन्छन् ।
यसअघि फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए । तर उक्त निर्वाचनमा भने उनले जित हासिल गर्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस