२५ बैशाख २०८३ शुक्रबार | 08 May 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आफ्नै पार्टीकी उपसभामुखको भूमिकाप्रति हर्क साम्पाङ असन्तुष्ट



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या ३६
  • काठमाडौँ, वैशाख २५ - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ले प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामाथि गम्भीर असन्तुष्टि जनाएका छन् । शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत उनले सरकारले संवैधानिक प्रक्रिया र स्थापित पद्धति विपरीत निर्णय गरेको आरोप लगाएका हुन् ।

    साम्पाङले संसद्लाई बेवास्ता गर्दै र राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइनु लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन् । उनले वरियतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधान न्यायाधीशका लागि सिफारिस गर्नु गलत निर्णय भएको दाबी गरेका छन् ।

    उनले विशेषगरी आफ्नै पार्टीबाट उपसभामुख बनेकी नेताको भूमिकाप्रति असन्तोष व्यक्त गरेका छन् । एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाबको वातावरण बनाइएको अवस्थामा उपसभामुखले समेत उक्त निर्णयमा हस्ताक्षर गर्नु दुःखद भएको उनको भनाइ छ ।

    साम्पाङले नियुक्ति प्रक्रियामा राजनीतिक र कानुनी स्वार्थ लुकेको आशंका पनि व्यक्त गरेका छन् । सहकारी ठगी प्रकरण र ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित मुद्दामा अनुकूल निर्णय गराउने उद्देश्यले सरकारले यस्तो कदम चालेको हुन सक्ने उनको आरोप छ ।