काठमाडौं, वैशाख २७ - पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने प्रक्रिया अघि बढाइएको छ । इन्टरपोलले थप कागजात माग गरेपछि नेपाल प्रहरीले आवश्यक विवरण पठाएको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार केही दिनअघि इन्टरपोलबाट थप प्रमाण र कागजात माग गर्दै इमेल आएको थियो । सोहीअनुसार एनसीबी शाखामार्फत आवश्यक विवरण पठाइएको हो ।
यसअघि २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया समेत सुरु गरिएको थियो ।
देउवा दम्पती १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि उनीहरू हङकङ पुगेको बताइएको छ । हालसम्म उनीहरू नेपाल नफर्किएको र हङकङमै रहेको प्रहरी स्रोतको भनाइ छ ।
यदि इन्टरपोलले रेड नोटिस जारी गरेमा सदस्य रहेका १९६ देशका सुरक्षा निकायले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । त्यसपछि कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस