काठमाडौं, असार १० - नेपाल प्रहरीले आगामी आर्थिक वर्षदेखि आफ्ना कर्मचारीलाई अर्धमासिक रूपमा तलब उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ। यसअनुसार प्रहरी कर्मचारीले प्रत्येक १५ दिनको अन्तरालमा तलब तथा भत्ता प्राप्त गर्नेछन्।
प्रहरी प्रधान कार्यालयले बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई परिपत्र जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको निर्णयअनुसार राष्ट्रसेवक कर्मचारीको तलब भुक्तानी प्रणालीमा आवश्यक सुधार गरिएको उल्लेख छ।
परिपत्रमा आगामी आर्थिक वर्षदेखि कर्मचारीलाई मासिक तलब एकमुष्ट नभई दुई किस्तामा, प्रत्येक १५ दिनपछि भुक्तानी गरिने व्यवस्था मिलाइएको जनाइएको छ। सोहीअनुसार सबै सम्बन्धित कार्यालयलाई आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयन गर्न भनिएको छ।
सरकारले राष्ट्रसेवक कर्मचारीको वित्तीय व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउन अर्धमासिक तलब वितरण प्रणाली लागू गर्न लागेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस