विराटनगर, असार १० – विराटनगरस्थित परोपकार घाटमा रातको समयमा अशोभनीय तथा होहल्लापूर्ण गतिविधिमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आफूहरू साधु बन्ने तयारीमा रहेको दाबी गर्दै शवदाह स्थलमा अनौठा गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा विराटनगर–६ का सुरेन्द्रमणि मण्डल, विराटनगर–४ का छबिलाल घिमिरे, सुनसरीको रामधुनी नगरपालिका–६ का कैलाश ढुंगाना र भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का मनिष काफ्ले रहेका छन्।
प्रहरीका अनुसार उक्त समूहले शव जलाइने स्थानमा आगो बालेर रातको समयमा होहल्ला गर्दै पूजा गर्ने तथा असामान्य व्यवहार प्रदर्शन गर्ने गरेको थियो। स्थानीयवासीले आइतबार राति पनि यस्तै गतिविधि भइरहेको जानकारी दिएका थिए। त्यसबेला उनीहरू ६ जनाको समूहमा रहेको बताइएको छ।
स्थानीयले खिचेको भिडियोमा केही व्यक्ति अर्धनग्न तथा निर्वस्त्र अवस्थामा देखिएका छन्। उनीहरूले एकअर्कासँग धकेलाधकेल गर्ने, अपशब्द प्रयोग गर्ने तथा चितास्थलको खरानी शरीरमा दल्ने जस्ता कार्य गरेको भिडियोमा देखिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा माटोका भाँडा, पानीका बोतल, दाउरा लगायतका सामग्री समेत फेला परेको थियो। शवदाह स्थलमा यस्ता गतिविधि देखिएपछि आसपासका बासिन्दा त्रसित बनेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मदिरा सेवनपछि आफूहरू ‘बाबा’ बन्ने भन्दै अशोभनीय हर्कत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आइतबारको घटनापछि निगरानी बढाइएको र सोमबार पुनः उस्तै गतिविधि दोहोरिन थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए।
हाल पक्राउ परेका चारै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस