९ असार २०८३ मंगलबार | 23 Jun 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

५ हजार रुपैयाँ प्रतिनिधि शुल्क नलिने रास्वपाको निर्णय, फिर्ता प्रक्रिया खुला



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २९
  • चितवन, असार ९ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको ५ हजार रुपैयाँ शुल्क नलिने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेले उक्त शुल्क अब अनिवार्य नरहेको भन्दै सम्बन्धित संयन्त्रलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

    महाधिवेशनको कार्यक्रम अवधि अपेक्षाभन्दा केही लम्बिएपछि सहभागी प्रतिनिधिहरूको सुविधा र व्यवस्थापनलाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाइएको छ। यसअघि शुल्क बुझाइसकेका प्रतिनिधिहरूले आर्थिक अवस्था हेरेर प्रक्रिया पूरा गरी रकम फिर्ता लिन सक्ने व्यवस्था समेत मिलाइएको पार्टीले जनाएको छ।

    महाधिवेशन अवधिभर चितवनमा रहेका प्रतिनिधिहरूलाई आवास, खाना तथा अन्य व्यवस्थापनका विषयमा कुनै समस्या आएमा सम्पर्क गर्न आग्रह गरिएको छ। सहभागीहरूलाई सहज वातावरणमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले व्यवस्थापन पक्षले समन्वय गरिरहेको बताइएको छ।

    चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू संगठन विस्तार, नेतृत्व चयन र आगामी राजनीतिक रणनीतिबारे छलफलमा जुटेका छन्। कार्यक्रम लम्बिँदै जाँदा व्यवस्थापन र बसोबासको विषय पनि चर्चामा रहेको छ।