काठमाडौं, जेठ १० - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ। बैठक बिहान साढे ११ बजे सुरु हुनेछ।
आजको बैठकको मुख्य एजेन्डा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नहरूको जवाफ दिनु हो। त्यसअघि बोल्न बाँकी नेताहरुले आफ्ना धारणा राख्ने कार्यक्रम तय गरिएको छ।
गत शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा अधिकांश नेताहरुले अध्यक्ष ओलीको नेतृत्व शैलीको आलोचना गर्दै पार्टीलाई अघि बढाउने नयाँ रणनीति सुझाएका थिए।
ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले धारणा राख्दै संकटको समयमा नेतृत्वको संरक्षण आवश्यक भएको बताए। तर महासचिव शंकर पोखरेलले पार्टी अहिलेको शैलीमा अघि बढ्न नसक्ने र सुधार आवश्यक रहेको धारणा राखेका थिए।
शनिबारको बैठकमा महासचिव पोखरेलसहित उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ र सचिवहरु छविलाल विश्वकर्मा, हिक्मत कार्की, यामलाल कँडेल ओलीको विपक्षमा उभिएका थिए। त्यस्तै उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्ष पनि ओलीको विरोधमा देखिएका थिए।
आज सचिव शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्ने कार्यक्रम छ। यसअघि बोलिसकेका नेताहरुले आलोचना गर्दै नेतृत्व परिवर्तनको सुझाव दिए पनि, ओलीले अस्वीकार गरेका छन्। बैठकमा सबैको धारणा सुनेपछि अध्यक्ष ओलीले जवाफ दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस