२० जेठ २०८३ बुधबार | 03 Jun 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल–भारत सम्बन्धमा नयाँ बहस : रविले राखे आठबुँदे खाका



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ३७
  • काठमाडौं, जेठ १९ - भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक र भूराजनीतिक बहसबाट बाहिर निकालेर विकास, व्यापार र आर्थिक सहकार्यमा आधारित बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

    भारतीय दैनिक हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखमार्फत् लामिछानेले दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आठबुँदे सहकार्य प्रस्ताव सार्वजनिक गरेका हुन्। उनका अनुसार नेपाल–भारत सम्बन्ध अब लगानी, ऊर्जा, पर्यटन, पूर्वाधार र प्रविधि साझेदारीको आधारमा अघि बढ्नुपर्छ।

    सीमा विवाद समाधानका लागि संवादलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले अतिराष्ट्रवादी अभिव्यक्तिभन्दा ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।

    पूर्वाधार विकासतर्फ उनले रक्सौल–काठमाडौं रेलमार्गलाई उच्च प्राथमिकतामा राख्दै यसले व्यापार, पर्यटन तथा ढुवानी क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरेका छन्। त्यस्तै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेङ्गलुरु लगायत भारतीय शहरमा सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएका छन्।

    सूचना प्रविधि क्षेत्रको सहकार्य विस्तार गर्न ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ अवधारणा अघि सार्दै उनले डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल सेवामार्फत उद्यमशीलता प्रवर्द्धन गर्न सकिने बताएका छन्।

    लामिछानेले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थालाई नेपालमा विस्तार गर्न आह्वान गर्दै आईआईटी र एम्सजस्ता संस्थाको शाखा नेपालमा स्थापना गर्न सकिने उल्लेख गरेका छन्। साथै भारतीय प्रविधि कम्पनी र विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन केन्द्र तथा प्रविधि हब स्थापना गर्न पनि आग्रह गरेका छन्।

    कृषि तथा उद्योग क्षेत्रमा सहकार्य बढाउन नेपाल–भारत सीमाक्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्ने प्रस्ताव समेत उनले राखेका छन्। यसले कृषि उत्पादन र आपूर्ति प्रणालीलाई सुदृढ बनाउन मद्दत पुग्ने उनको विश्वास छ।

    ऊर्जा क्षेत्रमा नेपालको जलविद्युत् उत्पादनलाई भारतको बजारसँग जोडेर एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले सीमापार व्यापारलाई सहज बनाउन आधुनिक पूर्वाधार विकासको आवश्यकता औंल्याएका छन्।

    खेलकुद क्षेत्रलाई समेत दुई देशबीचको सहकार्यको माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्दै लामिछानेले भविष्यमा नेपाली खेलाडी तथा रंगशालालाई आईपीएलसँग जोड्ने सम्भावनाबारे सोच्नुपर्ने बताएका छन्।

    लेखमा उनले नेपालमा देखिएको राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’ को संज्ञा दिँदै नयाँ पुस्ताले विकास, सुशासन र जवाफदेहितामा आधारित राजनीतिको अपेक्षा गरेको उल्लेख गरेका छन्।