काठमाडौं, जेठ १९ - प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रभावित भएको छ। संसद् बैठकमा विपक्षी सांसदहरूले विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित गरेका छन्।
निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका थिए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको आधार र तथ्य सार्वजनिक गर्न माग गर्दै विरोध जनाएका हुन्।
सभामुखले विपक्षी दलका केही सांसदलाई आफ्ना धारणा राख्न अवसर दिए पनि उनीहरूको असन्तुष्टि कायमै रह्यो। त्यसपछि कार्यसूची अगाडि बढाउने प्रयास भए पनि विपक्षीको अवरोध नरोकिएपछि संसद्को बैठक स्थगित गर्ने निर्णय गरिएको हो।
विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ तथ्यहीन भएको दाबी गर्दै त्यसबारे स्पष्ट जवाफ वा आवश्यक परे सार्वजनिक रूपमा माफी माग्नुपर्ने अडान दोहोर्याएका छन्।
मंगलबारको बैठकमा राष्ट्रपतिबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने लगायतका कार्यक्रम तय गरिएको थियो। तर राजनीतिक विवादका कारण बैठक प्रभावकारी रूपमा सञ्चालन हुन नसकी अर्को बैठक जेठ २५ गतेका लागि बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस