काठमाडौं, जेठ १९ - श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले देशमा देखिएका राजनीतिक तथा सामाजिक समस्याको समाधानका लागि हर्क साम्पाङजस्ता ‘अर्गानिक’ नेतृत्व आवश्यक रहेको बताएका छन्।
उदयपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले लामो समयदेखि स्थापित राजनीतिक नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे। किरातीले नेपालको माटोमै हुर्किएको र जनतासँग प्रत्यक्ष जोडिएको नेतृत्वले मात्र देशलाई सही दिशा दिन सक्ने दाबी गरे।
उनका अनुसार नेपालले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान गर्न कृत्रिम रूपमा निर्माण गरिएका वा स्थापित गरिएका नेताभन्दा जनस्तरबाट उदाएका व्यक्तित्वलाई नेतृत्वको अवसर दिनुपर्ने आवश्यकता छ। यस सन्दर्भमा उनले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई उदाहरणका रूपमा प्रस्तुत गरे।
किरातीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति पनि असन्तुष्टि व्यक्त गरे। जनताले ठूलो आशाका साथ नेतृत्वमा पुर्याए पनि अपेक्षित परिणाम दिन नसकेको उनको आरोप थियो। उनले लोकप्रियता र शैलीगत प्रस्तुतिभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै किरातीले त्यसलाई गम्भीर र अक्षम्य गल्तीको संज्ञा दिए। उनले यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय हित र सीमा सम्बन्धी दाबीलाई कमजोर बनाउन सक्ने तर्क गरेका छन्।
प्रतिक्रिया दिनुहोस