१४ असार २०८३ आईतबार | 28 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१८ वर्षमुनिका ३५ हजारभन्दा बढीलाई सदस्यता दिएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न



  • अञ्जना ढकाल
  • ४ घण्टा अघि
  • पाठक संख्या २७
  • काठमाडौं, असार १४ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयलाई लिएर नेपाली कांग्रेसले प्रतिनिधिसभामा गम्भीर प्रश्न उठाएको छ।

    आइतबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै कांग्रेस सांसद रेनुका काउचाले रास्वपाले सार्वजनिक गरेको सदस्यता विवरणमा १८ वर्ष नपुगेका ३५ हजार २५७ जना समावेश भएको उल्लेख गर्दै यसले संविधान र प्रचलित कानुनको उल्लंघन गरेको दाबी गरिन्।

    उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै पनि राजनीतिक दलको सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै, “रास्वपा संविधान र कानुनभन्दा माथि हो ?” भन्ने प्रश्न संसद्मा उठाइन्।

    चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनअनुसार पार्टीका कुल सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। तीमध्ये १८ वर्षमुनिका ३५ हजार २५७ जना रहेको उल्लेख भएपछि यो विषय विवादमा आएको हो। उक्त संख्या कुल सदस्यको करिब ६.७ प्रतिशत हो।

    राजनीतिक दलसम्बन्धी ऐनले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई दलको सदस्यता दिन नपाइने व्यवस्था गरेको छ। त्यस्तै, बालबालिका सम्बन्धी ऐन, २०७५ ले पनि कुनै पनि बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट प्रावधान राखेको छ।

    यही कानुनी व्यवस्थाको आधारमा कांग्रेसले रास्वपाको सदस्यता वितरण प्रक्रियामाथि प्रश्न उठाएको हो।