३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उदयपुरमा जङ्गली हात्तीको आतंक, ६ घरमा क्षति



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ७४
  • उदयपुर, असार १५ - उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा गएराति जङ्गली हात्तीको समूह प्रवेश गर्दा स्थानीय बासिन्दाको उठीबास भएको छ। हात्तीले गाउँमा पसेर कम्तीमा ६ वटा घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका काठ तथा कर्कटपाताले छाएका घरहरू हात्तीले भत्काएको हो। घरमा राखिएको अन्नपातसमेत हात्तीले नष्ट गरेको बताइएको छ।

    हात्ती गाउँमा प्रवेश गरेपछि स्थानीयवासी ज्यान जोगाउन रातारात सुरक्षित स्थानतर्फ भागेका थिए। प्रभावित परिवारलाई चौदण्डीगढी नगरपालिकाले अस्थायी रूपमा सुरक्षित बसोबासको व्यवस्था मिलाएको जनाएको छ।

    प्रहरीका अनुसार हात्तीको समूह कोशीटप्पु क्षेत्रबाट गाउँतर्फ आएको अनुमान गरिएको छ। हाल उक्त समूह लामाचौर र ४५ चोक आसपासको जङ्गल क्षेत्रमा रहेको जानकारी प्राप्त भएको छ।

    स्थानीय बासिन्दाको सुरक्षालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ भने हात्तीको गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।