जनकपुरधाम, असार २२ - बारास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको छ। कार्यालय प्रमुखकै कार्यकक्षभित्र भएको उक्त घटनाप्रति मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले चासो देखाउँदै छानबिन गर्ने जनाएको छ।
भाइरल भिडियोमा लाइसेन्ससम्बन्धी कामका लागि कार्यालय पुगेका एक सेवाग्राही कार्यालय प्रमुखसँग संवाद गरिरहेको देखिन्छ। केहीबेरपछि सेवाग्राहीले मोबाइल निकालेर भिडियो खिच्न खोजेपछि विवाद चर्किन्छ। त्यसक्रममा एक कर्मचारीले सेवाग्राहीलाई धकेल्ने, कार्यालय प्रमुखले गला समात्ने र अर्का कर्मचारीले पनि हातपात गरेको दृश्य देखिन्छ। पछि प्रहरीले बीचबचाउ गरेको भिडियोमा देखिन्छ।
प्रारम्भिक जानकारीअनुसार घटना गत फागुन तेस्रो साताको हो। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सरकारी कार्यालयभित्र भएको यस्तो व्यवहारको आलोचना भइरहेको छ। प्रयोगकर्ताले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।
यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यले भने घटनामा संलग्न व्यक्ति अरुण कुशवाहा रहेको र उनले आफू पत्रकार भएको परिचय दिँदै कर्मचारीमाथि धाकधम्की तथा गालीगलौज गरेपछि विवाद भएको दाबी गरेका छन्। उनले सार्वजनिक भिडियो घटनाको पूर्ण भाग नभई काटिएको अंश मात्र भएको र दुवै पक्षबीच मिलापत्र भइसकेको बताएका छन्।
यता, मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले भिडियोबारे मन्त्रालय जानकार रहेको र घटनामाथि छलफल गरी आवश्यक निर्णय लिइने बताएका छन्।
घटनापछि सरकारी कार्यालयमा सेवाग्राहीको सुरक्षा, कर्मचारीको आचरण र सार्वजनिक सेवा प्रवाहमाथि प्रश्न उठेको छ। घटनाको वास्तविकता पत्ता लगाउन मन्त्रालयको छानबिन र त्यसपछि हुने निर्णयलाई चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस