काठमाडौं, असार २१ - नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसअन्तर्गत प्राप्त जनअधिकार कमजोर पार्ने उद्देश्यसहित अघि बढिरहेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा नेकपाको उपत्यका प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले महिला, दलित, आदिवासी, जनजाति तथा अन्य समुदायले संविधानमार्फत प्राप्त गरेका अधिकारमाथि हस्तक्षेप गर्न खोजेको दाबी गरे। यही कारण सबै लोकतन्त्र पक्षधर शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।
प्रचण्डले सरकारले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी तथा ट्रेड युनियनका अधिकार सीमित गर्ने र राष्ट्रिय सीमासम्बन्धी विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने काम गरेको आरोप पनि लगाए। यी विषयमा आफूले संसदमा थप सशक्त रूपमा आवाज उठाउने उनले बताए।
भाषणका क्रममा उनले विगतमा आफ्नो नेतृत्वबाट पनि वर्ग संघर्ष, विचार र रणनीतिलाई पर्याप्त महत्व नदिएको स्वीकार गर्दै त्यसको मुख्य जिम्मेवारी आफूले लिने बताए। विगतका कमजोरीबाट शिक्षा लिएर अब नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस