चितवन, असार २४ - चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि आतंक मच्चाउँदै आएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा छोट्याउने र नयाँ रेडियो कलर लगाउने तयारी गरिएको छ । मानिसमाथि पटक–पटक आक्रमण गरेको उक्त हात्तीलाई निगरानीमा राख्दै नियन्त्रणको योजना बनाइएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुवे हात्ती भेटिएलगत्तै बेहोस बनाउने औषधि (डार्ट) प्रयोग गरी नियन्त्रणमा लिइनेछ । त्यसपछि दाह्रा काटेर छोटो बनाइने र घाँटीमा नयाँ रेडियो कलर जडान गरिनेछ ।
ध्रुवे हात्तीले गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा आक्रमण गर्दा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो । उक्त घटनासहित ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको ज्यान गएको निकुञ्जले जनाएको छ ।
घटनापछि हात्तीको गतिविधि निरन्तर निगरानी भइरहेको छ । सोमबार साँझ मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा समेत ध्रुवेले क्षति पुर्याउँदै स्थानीयको घरमा राखिएको अन्न खाएको थियो ।
निकुञ्जका अनुसार यसअघि लगाइएको रेडियो कलरले प्रभावकारी रूपमा सूचना दिन नसकेपछि नयाँ उपकरण जडान गर्न लागिएको हो । नयाँ रेडियो कलरमार्फत हात्ती बस्ती नजिक पुगेको जानकारी समयमै पाएर स्थानीयलाई सचेत गराउन सहज हुने अपेक्षा गरिएको छ ।
ध्रुवे हात्ती यसअघि पनि पटक–पटक नियन्त्रण प्रयासमा परेको थियो । दुई वर्षअघि पनि यसको दाह्रा काटिएको थियो । २०७४ सालमा नेपाली सेनाका एक सेनानीको मृत्यु भएपछि ध्रुवे फेरि लामो समयपछि मानवीय क्षति गराएको हो ।
२०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको ध्रुवेले २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिएको थियो । माडी क्षेत्रमा लगातार मानवीय क्षति भएपछि स्थानीय प्रशासनले यसलाई नियन्त्रण गर्ने निर्णयसमेत गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवेसहित रोनाल्डो र गोविन्दे नामका जंगली भाले हात्ती रहेका छन् । निकुञ्जभित्र हाल करिब ४५ देखि ५० वटा जंगली हात्ती रहेको निकुञ्जले जनाएको छ । ध्रुवेले क्षति पुर्याएको घर पुनर्निर्माणका लागि निकुञ्ज, विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायबीच समन्वय भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस