विराटनगर, साउन ११ - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले जिल्लाको दक्षिणी क्षेत्रका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको छ।
आइतबार राति उत्पन्न विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता को मृत्यु भएको हो। घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे ले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन्। कर्फ्यु अवधिभर ती क्षेत्रमा आवतजावत, भेला, जुलुस तथा सभा–सम्मेलन पूर्ण रूपमा निषेध गरिएको छ।
प्रशासनले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजारका विभिन्न सीमाना तोकी कर्फ्यु लागू गरेको जनाएको छ। साथै हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रमा निषेधाज्ञा समेत जारी गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान लागेको युवाहरूको एक समूहलाई अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै रोक्न खोजेपछि विवाद सुरु भएको थियो। सामान्य भनाभनले उग्र रूप लिँदै झडपमा परिणत भएपछि अवस्था नियन्त्रणबाहिर गएको र त्यसपछि प्रहरीले बल प्रयोग गर्दै गोली चलाएको जनाएको छ।
घटनापछि आइतबार राति जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। त्यसपछि सम्भावित थप अप्रिय घटना रोक्न र शान्ति–सुरक्षा कायम राख्न प्रशासनले कर्फ्यु तथा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो। सोमबार बिहानदेखि प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने अवस्था सामान्य बनाउन सुरक्षा निकायले निगरानी तीव्र पारेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस