२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ईपीएस आवेदनको चापसँगै राहदानी विभागमा सेवाग्राहीको भीड, दुई सिफ्टमा सेवा सञ्चालन



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ६०
  • काठमाडौं, साउन १४ - दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिनेहरूको संख्या उल्लेख्य रूपमा बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड बढेको छ। बिहानैदेखि राहदानी बनाउन तथा लिन आएका सेवाग्राहीको लामो लाइन देखिएको छ, जसमा युवा–युवतीको उपस्थिति बढी रहेको छ।

    बढ्दो चापलाई व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी विभागले साउन १४ देखि २२ गतेसम्म विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ। पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको विभागले जनाएको छ।

    विभागका अनुसार पछिल्लो समय दक्षिण कोरिया रोजगारीका लागि ईपीएस आवेदन खुला भएसँगै राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको हो। ईपीएस प्रक्रियाका लागि राहदानी अनिवार्य हुने भएकाले एक सातायता राहदानी सेवामा असाधारण चाप परेको विभागको भनाइ छ।

    सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै शनिबार, आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन पनि विद्युतीय राहदानी सेवा निरन्तर सञ्चालन गरिनेछ। सार्वजनिक बिदामा भने बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा उपलब्ध गराइने विभागले जानकारी दिएको छ।

    राहदानी विभागले अतिरिक्त समयसहित दुई सिफ्टमा सेवा सञ्चालन गरेर बढ्दो भीड व्यवस्थापन गर्ने र सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।