२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कालापानीमा सुकुमवासीको आन्दोलन चर्कियो, बिपी राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु प्रभावित



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ५५
  • महोत्तरी, साउन १६ - महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोबासीले शनिबार बिहानदेखि बिपी राजमार्गमा चक्काजाम गर्दै आन्दोलन सुरु गरेका छन्। उनीहरूमाथि दर्ता गरिएको मुद्दा फिर्ता गर्नुपर्ने माग राख्दै गरिएको आन्दोलनका कारण राजमार्गमा सयौं सवारीसाधन रोकिएका छन् भने यात्रुहरू घण्टौंसम्म अलपत्र परेका छन्।

    स्थानीयले गत जेठ ११ गते वन प्रशासनसँग भएको विवादपछि चार जनामाथि लगाइएको मुद्दा झुटो भएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेका छन्। यसअघि बसेको सर्वदलीय बैठकले नगर प्रमुखमार्फत प्रशासनसँग पहल गर्ने निर्णय गरे पनि सहमति जुट्न नसकेपछि आन्दोलनको बाटो रोजिएको हो।

    जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारीले मुद्दा दर्ता भइसकेकाले कानुनी प्रक्रिया नटुंगिई फिर्ता लिन नसकिने स्पष्ट पारेपछि स्थानीय थप असन्तुष्ट बनेका थिए। प्रशासनलाई दिइएको तीन दिने समयसीमा सकिएलगत्तै उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन्।

    आन्दोलनकारीले झुटा मुद्दा फिर्ता लिनुपर्ने, घटनामा संलग्न वन कार्यालयका जिम्मेवार अधिकारीमाथि कारबाही गर्नुपर्ने तथा यसअघि भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन्। आन्दोलनका कारण बिपी राजमार्गको यातायात सेवा प्रभावित बनेको छ।

    प्रहरीका अनुसार कालापानी घटनासम्बन्धी मुद्दा असार १९ गते दर्ता भई अनुसन्धानको चरणमा रहेको छ। अवस्था सामान्य बनाउन सुरक्षा निकाय र स्थानीयबीच समन्वय भइरहेको जनाइएको छ।

    गत जेठ ११ गते वन अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालयका कर्मचारी कालापानी पुगेपछि स्थानीयसँग विवाद भएको थियो। त्यसक्रममा वन कर्मचारी केही समय स्थानीयको नियन्त्रणमा परेका थिए भने सरकारी गाडीमा आगजनीसमेत भएको थियो। त्यसपछि प्रहरीले बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको थियो।

    स्थानीयले आफूहरू पुस्तौंदेखि बसोबास गर्दै आएको जग्गाको लालपूर्जा दिनुको सट्टा बस्ती हटाउने प्रयास गरिएको भन्दै विरोध जनाउँदै आएका छन्। घटनापछि भएको सहमतिअनुसार कसैविरुद्ध मुद्दा नचलाइने भनिए पनि पछि अनुसन्धान अघि बढेपछि स्थानीय पुनः आन्दोलनमा उत्रिएका हुन्।