जनकपुर, साउन १६ - मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि जारी आन्दोलन र तनावपूर्ण अवस्थालाई सहज बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार जनकपुरमा आन्दोलनरत पक्षका प्रतिनिधिसँग औपचारिक संवाद सुरु गरेका छन्।
सुनसरीको कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीच भएको झडपमा दुई युवाको मृत्यु र त्यसपछि सिरहामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अर्का एक युवाको ज्यान गएपछि तराई–मधेशका जिल्लामा आन्दोलन चर्किएको थियो। घटनापछि सुरक्षा चुनौती बढ्दै गएसँगै सरकारले वार्तामार्फत समाधान खोज्ने पहल अघि बढाएको हो।
सोही उद्देश्यका साथ जनकपुर पुगेका गृहमन्त्री गुरुङले आन्दोलनकारी पक्षसँग छलफल गर्दै तनाव कम गर्ने र सामाजिक सद्भाव कायम गर्ने विषयमा संवाद अघि बढाएका छन्। सरकारले वार्तालाई प्राथमिकतामा राखेर समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयास गरिरहेको जनाएको छ।
यसबीच केही जिल्लामा लगाइएको कर्फ्यु हटाइएको भए पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही स्थानमा निषेधाज्ञा भने अझै कायम रहेको प्रशासनले जनाएको छ।
सरकारका अनुसार संवादको प्रभावस्वरूप केही क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएको छ भने स्थानीय प्रशासनले शान्ति–सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै परिस्थितिमाथि निरन्तर निगरानी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस