२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापामा मानव–हात्ती द्वन्द्व भयावह, १६ वर्षमा ८० जनाको मृत्यु



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ७०
  • झापा, साउन १७ - झापामा मानव–हात्ती द्वन्द्व पछिल्ला वर्षहरूमा झन् गम्भीर बन्दै गएको देखिएको छ। डिभिजन वन कार्यालय भद्रपुरको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् भने मानिससँगको द्वन्द्वका कारण २८ वटा जङ्गली हात्ती पनि मारिएका छन्।

    कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विसं २०६७ असारदेखि २०८३ असार मसान्तसम्मको अभिलेखमा ७० नेपाली र १० गैरनेपाली नागरिक हात्तीको आक्रमणमा परेर मृत्यु भएको उल्लेख छ। यसले झापामा औसतमा प्रत्येक वर्ष करिब पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाइरहेको अवस्था देखाउँछ।

    तथ्याङ्कअनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष बनेको थियो। उक्त वर्ष तीन महिलासहित आठ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा मात्रै छ जनाको ज्यान गएको र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइएको वन कार्यालयले जनाएको छ।

    वन कार्यालयका अनुसार मानव–हात्ती द्वन्द्वले मानिस मात्र होइन, हात्तीको अस्तित्वलाई पनि असर पुर्‍याएको छ। २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन्, जसमध्ये २०८२ सालमा मात्रै छ वटा हात्तीको मृत्यु भएको अभिलेखमा उल्लेख छ।

    वन क्षेत्रको अतिक्रमण, बस्ती विस्तार, कृषिबालीतर्फ हात्तीको आकर्षण तथा परम्परागत हात्ती आवतजावत गर्ने मार्ग अवरुद्ध हुनु द्वन्द्व बढ्नुका मुख्य कारण रहेको प्रमुख यादवले बताए।

    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र स्थानीय समुदायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम, निगरानी तथा उद्धार अभियान सञ्चालन भइरहेको वन कार्यालयले जनाएको छ।