काठमाडौं, साउन २० - उपभोक्ताले एलपीजी ग्यास अभावको समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नेपाल आयल निगमले विशेष क्विक रेस्पोन्स टिम गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठन गरिएको उक्त टोलीले बुधबारदेखि नै औपचारिक रूपमा काम सुरु गरेको हो।
ग्यास आपूर्तिमा देखिने समस्या छिटो समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरूलाई समेटेर संयुक्त संयन्त्र बनाइएको मन्त्रालयले जनाएको छ।
गठित टोलीमा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका प्रतिनिधिका रूपमा आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
देशका कुनै पनि क्षेत्रमा एलपीजी ग्यासको अभाव वा वितरणमा समस्या देखिए तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने जिम्मेवारी टोलीलाई दिइएको छ। निगमको हटलाइनमा आउने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर र व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यासको सहज आपूर्ति सुनिश्चित गरिने बताइएको छ।
पछिल्ला दिनमा विभिन्न स्थानबाट ग्यास नपाएको भन्दै गुनासो बढ्न थालेपछि तत्काल समस्या सम्बोधन गर्ने उद्देश्यले यस्तो संयन्त्र स्थापना गरिएको निगमले जनाएको छ। कार्यालय समयभित्र प्राप्त हुने उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सकेसम्म छिटो समाधान निकाल्ने तयारी गरिएको छ।
ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या परे उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त गुनासोमाथि क्विक रेस्पोन्स टिमले आवश्यक पहल गरी समाधान प्रक्रिया अघि बढाउने निगमले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस