रुपन्देही, साउन २२ - रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत पर्ने साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रका स्थानीय बासिन्दाले करिब ५८ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका २७१ परिवारलाई बिहीबार लालपुर्जा वितरण गरिएको हो।
२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा जग्गा दर्ता कायम भएको थियो। विभिन्न प्रशासनिक तथा प्राविधिक प्रक्रियापछि तीमध्ये २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई हस्तान्तरण गरिएको जनाइएको छ।
दशकौँदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजात नहुँदा स्थानीयले अनेक समस्या भोग्दै आएका थिए। लालपुर्जा प्राप्त भएसँगै अब जग्गाको कानुनी स्वामित्व सुनिश्चित भएको छ भने किनबेच, बैंकिङ कारोबार, धितो तथा अन्य सरकारी सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाले लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। उनीहरूले यसलाई आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धि र राज्यबाट प्राप्त न्यायको अनुभूति भएको बताएका छन्।
रोहिणी क्षेत्रका स्ववासीका लागि लालपुर्जा वितरण कार्यक्रमलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यसले वर्षौँदेखि समाधान हुन नसकेको जग्गा व्यवस्थापनसम्बन्धी समस्या अन्त्य हुनुका साथै स्थानीयको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस