काठमाडौं, साउन २२ - प्रतिनिधिसभाका सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको सफलता वा असफलता प्रतिपक्षका आवाजलाई कत्तिको महत्व दिन्छ भन्ने कुरामा निर्भर रहने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतका सरकारहरूको अनुभवले पनि प्रतिपक्षका सुझाव र आलोचनालाई बेवास्ता गर्दा शासन सञ्चालन प्रभावकारी हुन नसकेको देखाएको बताए। त्यसैले विगतका कमजोरी दोहोरिन नदिन सरकारले प्रतिपक्षसँग संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
सांसद साम्पाङले जनताले आफ्ना प्रतिनिधिलाई संसदमा जनताको आवाज उठाउन पठाएको उल्लेख गर्दै सांसदहरूले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र आवश्यक निर्णय तथा कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे।
उनले पछिल्लो समय देखिएको ग्यास आपूर्तिको समस्याबारे पनि सरकारसँग स्पष्ट जवाफ मागे। सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताउँदै ग्यासको आपूर्ति प्रणाली किन प्रभावित भयो भन्ने विषयमा पारदर्शी रूपमा जानकारी दिन आग्रह गरे।
साम्पाङले उपभोक्ताले कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिरेर ग्यास खरिद गरिरहेको अवस्थामा आपूर्तिकर्तालाई समयमै भुक्तानी किन नपुगेको भन्ने प्रश्न उठाए। उनले आपूर्ति शृङ्खला अवरुद्ध हुनुको वास्तविक कारण सार्वजनिक गर्न र त्यसमा कुनै आर्थिक अनियमितता भएको हो वा होइन भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस