नेपाल - पूर्व झापादेखि पश्चिम कञ्चनपुरबाट आन्दोलनका लागि काठमाडौं आएका लघुवित्त पीडितहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् ।
न्यायका सडक प्रदर्शन गरिरहेका लघुवित्त पीडितहरु संसद् भवन प्रवेश गरेपछि प्रहरीले चार दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ। तर, लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।
संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उक्त घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनाली नेतृत्वको समिति बनाइएको छ । समितिमा काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक (एसपी नवराज) अधिकारी र उपत्यका प्रहरी कार्यालयकै प्रहरी नायव उपरीक्षक (डिएसपी) दिनेश घिमिरे सदस्य रहेका छन् ।
यसरी संसदभवभित्रै लघुवित्त पीडित प्रवेश गरेपछि एकचोटि फेरि प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । समितिलाई घटनाका सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गर्न निर्देशन दिइएको छ ।
समितिले जनप्रतिनिधिमूलक संस्था संसद् भवनको सुरक्षामा लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कारबाहीको सिफारिस गर्नाका साथै पुनः यस्ता प्रकारका घटना दोहोरिन नदिन राय–सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
लघुवित्त संस्थाविरुद्ध संघर्ष गर्दै आएका आन्दोलनकारी आज अपराह्न निषेधित क्षेत्र तोडी नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको २ नं गेटबाट भित्र प्रवेश गरेका थिए । संसद् भवनपरिसर प्रवेश गरेका एक पुरुष र ४८ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनालगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को सुरक्षा व्यवस्थाबारे गम्भीर चासो र असन्तुष्टि व्यक्त गरेका थिए । उनले घटनाबारे गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौं उपत्यका प्रहरी प्रमुख दीपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतसँग स्पष्टीकरण लिएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ प्रहरीलाई जिम्मेवारी मुक्त गरी आजै अर्को टोली खटाएको छ
प्रतिक्रिया दिनुहोस