काठमाडौं, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने सरकारको निर्णयलाई प्रतिशोधपूर्ण भन्दै आपत्ति प्रकट गरेको छ।
मंगलबार जारी प्रेस विज्ञप्तिमा संघले सरकारले कुनै ठोस प्रमाण वा छानबिनबिनै ओलीमाथि संदेह गर्दै राहदानी रोक्ने कदम चालेको उल्लेख गर्दै यसको निन्दा गरेको हो। संघका अध्यक्ष क्षितिज थेवेको हस्ताक्षर रहेको विज्ञप्तिमा यस्तो निर्णयले कानुनी शासनको उपहास भएको र यो राजनीतिक पूर्वाग्रहमा आधारित रहेको आरोप लगाइएको छ।
युवा संघले ओलीले आफ्नो सम्पूर्ण जीवन राष्ट्र र जनताको हितमा समर्पण गरेको स्मरण गर्दै सरकारले देखाएको रवैया गैरराजनीतिक भएको ठहर गरेको छ। साथै, संघले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध पनि प्रतिशोधका आधारमा मुद्दा चलाउने तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ।
त्यसैगरी, संघले गत भदौ २४ गतेको विध्वंसकारी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही नगर्ने गृह मन्त्रालयको निर्णयलाई समेत “दुखद् र निन्दनीय” भनेको छ। संघका अनुसार यसले नेपाल प्रहरीको मनोबल कमजोर बनाउने खतरा छ।
युवा संघले सरकारलाई लोकतान्त्रिक बाटोमा अघि बढ्न, राजनीतिक प्रतिशोध छोड्न र निष्पक्ष आम निर्वाचन सुनिश्चित गर्न आग्रह गरेको छ। साथै, जेएनजेडी लगायतका युवा आन्दोलनका मागहरूलाई सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्ने संघले चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस