८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एलिनाको पक्षमा संगीतकर्मी : ‘आज एलिनालाई घुँडा टेकाउने​​​​​​​ले भोलि तिमीलाई पनि टेकाउलान्



  • सिमोन भट्टराई
  • १० महिना अघि
  • पाठक संख्या ३६४
  • काठमाडौं -गत आइतबार पर्वत महोत्सवमा गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीचको कार्यक्रममै भनाभन भएको थियो। एलिनाले गीत गाउने क्रममा साउण्ड मिलाइदिन आग्रह गर्दा टेक्निसियनले एलिनालाई  'पहिला आफ्नो भोकललाई क्लिएर गर्नु अनि हाम्रो लेभलमा आउनु'   भनेका थिए। यसको प्रतिवाद गर्दै एलिना रिसाएपछि विवादले उग्र रुप लियो। जसको कारण साउन्ड सिस्टम टेक्निसियनका समूहले एलिनामाथि दोष थोपरेर उनको कार्यक्रम बहिष्कार गर्नेसम्मको धम्की दिएका छन्।

    साउन्ड सिस्टमका ६ वटा समूहले एलिनाले माफी नमागेसम्म उनको कार्यक्रममा साउण्ड सिस्टम नदिने चेतावनी   दिएपछि हिजो शनिबार एलिनाले पनि सामाजिक सञ्जालमार्फत् आफूबाट गल्ती भएको स्विकार गरेकी थिइन्।

    एउटी गायिकामाथि सामान्य विषयमा कार्यक्रम बहिष्कार गर्नेसम्मको चेतावनी दिइँदा पनि नबोलेको भन्दै कलाकारमाथि नै प्रश्न उठ्न थालेको छ। त्यसपछि अहिले एलिनाको पक्षमा गायक, संगीतकार तथा कलाकारहरूले आवाज उठाउन थालेका छन्।

    लोक गायक बद्री पंगेनीले यसको दोषी एलिना चौहान मात्रै हुन्? भनेर प्रश्न गरेका छन्। ‘के घटनाको कारक गायिका एलिना चौहान मात्रै हुन्? हो भने साउण्ड सिस्टम व्यवसायी साथीहरूले प्रष्ट पारिदिनुपर्यो। उहाँले ठूलै गल्ती गरेको हो भने कानुनी उपचार खोज्नुपर्यो, सम्बन्धित निकायसँग छलफल गर्नुपर्यो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘होइन भने तपाईंहरूको सामूहिक धारणा आइरहँदा गायिका एलिना चौहानले सामाजिक संजालमा कमजोरी महसुस गरिरहँदा प्राविधिक साथीले चाहिँ दूधैले नुहाइदिनु भएको हो? कि प्राविधिकबाट कहिल्यै गल्ती हुँदैन?’

    त्यस्तै, संगीतकार दीपक शर्माले कलाकारको बारेमा बोल्ने कोही नभएको गुनासो पोखेका छन् आज एलिनालाई घुँडा टेकाइयो त्यो भोलि एलिनाले मात्रै घुँडा टेक्छे? उनले प्रश्न गर्दै भनेका छन्, ‘हाम्रा गायक गायिकाका निमित्त खोलिएका संस्थाहरू यस्तै चुप हुन्? यदि गायक गायिकाको गल्ती छ भने सम्झाउने र उनीहरूलाई अफ्ट्यारो पर्दा काँध दिन सक्ने कुनै संस्था छन् भने, कृपया काँध थाप्नुस्। नत्र अब कार्यक्रममा हिँड्ने गायक गायिका अझै हेपिँदै जानेछन्।’

    उनले स्टेजमा गाउने कलाकारहरूका बारेमा बोल्ने कोही नभएको भन्दै जुत्ता प्रहार हुँदासमेत प्रतिवाद नगरेको बताएका छन्।

    ‘हाम्रो गायक गायिकाका विषयमा बोल्दिने कोही छैनन्?,’ उनले भने, ‘दुर्गेशले जुत्ता खायो, त्यो भोलि दुर्गेशले मात्र खान्छ?’

    एलिनाको पक्षमा अन्य थुप्रै संगीतकर्मी तथा कलाकारहरूले आवाज उठाइरहेका छन्।