८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेदरल्यान्ड्ससँग नेपालको हार



  • सिमोन भट्टराई
  • ७ महिना अघि
  • पाठक संख्या ३२८
  • अमेरिका —नेपालले ट्वान्टी २० पुरुष विश्वकप क्रिकेटमा विजयी सुरुआत गर्न सकेन । अनुभवी म्याक्स ओ डडको अर्धशतकमा नेदरल्यान्ड्सले मंगलबार नेपाललाई ६ विकेटले पराजित गर्‍यो। डच टोलीले १ सय ७ रनको लक्ष्य ८ बल अगाडि नै १ सय ९ रन बनाउँदै पुरा गर्‍यो ।

    ओ डडले अविजित ५४ रन बनाउँदै डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा भरिभराउ नेपाली समर्थकलाई निराश बनाए ।

    ३० वर्षे उनले ४८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । सोमपाल कामीको बलमा कप्तान रोहित पौडलेले ४१ रनमा ओ डडको क्याच छाड्दा नेपालको झिनो आशा पनि समाप्त भएको थियो ।

    बास डेल लिड ११ रन बनाई अविजित रहे । उनले अविनाश बोहराको बलमा विजयी चौका प्रहार गरे ।

    यसअघि सोमपालले दोस्रो ओभरमै माइकल लेभिटलाई १ रनमा आउट गरि नेदरल्यान्ड्सलाई राम्रो सुरुआत दिलाएका थिए । ठूलो लक्ष्य नभएका कारण आरामदायी हिसाबमा खेलेको नेदरल्यान्ड्सबाट ओ डड र विक्रमजित सिंहले दोस्रो विकेटमा ४० रनको साझेदारी गरे । सिंहले २८ बल खेली ४ चौका प्रहार गरि २२ रन बनाए ।

    साइब्रान्ड इंगलब्रेक्टले १६ बल खेली १ चौकासहित १४ रन बनाए । उनलाई सोमपालले फ्लो थ्रुमा रनआउट गरे । कप्तान स्कट इडवार्डसलाई ५ रनमा अविनाश बोहराले बोल्ड गरे ।

    सोमपालले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा २० रनमात्र खर्चे पनि कुनै विकेट लिन सकेनन । अविनाशले ३.४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

    यसअघि रोहितले टिकेर खेले पनि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १ सय ६ रनमा अलआउट भएको थियो । रोहितले ३७ बलमा ३५ रन बनाए । चौथो ओभरमा ब्याटिङमा आई १६ औं ओभरमा आउट हुनु पूर्व रोहितले ५ चौका प्रहार गरे ।

    तल्लोक्रममा करण केसीले २ छक्कासहित १२ बलमा १७ रन बनाए । गुलशन झाले १५ बलमा १ चौका प्रहार गरि १४ रन बनाए । अविनाश बोहरा पहिलो बलमा आउट भए ।

    नेपालको सुरुआत राम्रो रहेन । आसिफ शेख ८ बलमा ४ रन बनाई आउट भए । भिभिएन किङमासँग नयाँ बल लिएर आएका देव्रेहाते स्पिनर टिम प्रिङगलले आफ्नो पहिलो ओभरमै आसिफलाई आउट एजमा शर्टमा रहेका किङमाबाट क्याच गराए ।

    कुशल भुर्तेलको खराब फर्म जारी नै रहयो । १० बलमा ७ रन बनाएका उनलाई पहिलो परिवर्तनको रुपमा आएका लोगन भान बिकले एलबीडब्लु आउट गरे । नेदरल्यान्ड्सका बलरविरुद्ध अनिल साह र रोहितको प्रतिरोध केहि समयमात्र रहयो । अनिल १२ बल खेली २ चौका प्रहार गरि ११ रन बनाई प्रिङगलकै बलमा आउट भए ।

    कुशल मल्ल ९, दीपेन्द्रसिंह १, सोमपाल शुन्यमा आउट भए । प्रिङगलले ४ ओभरमा २० रनमात्र खर्चेर ३ विकेट लिए । उनले १३ डट बल फालेका थिए । पाउल भान मिकेरेनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुनै विकेट नलिए पनि किङमाले ४ ओभरमा २३ रन खर्चेका थिए । उनले १५ डट बल फालेका थिए ।

    वर्षाले भिजेका कारण खेल आधा घन्टा ढिला सुरु भएको थियो । डालासमा बिहानै देखि वर्षा भएको थियो । ९ बजे वर्षा रोकिए पनि मैदान भिजेका कारण समयमा टस हुन सकेको थिएन ।