८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कतारमा नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था गर्न आग्रह

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र हितलाई ध्यानमा राख्दै २४ घण्टे बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरेका छन्।



Nepal Qatar
  • क्वालिटी खबर
  • ३ हप्ता अघि
  • पाठक संख्या ९६
  • काठमाडौँ - उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र हितलाई ध्यानमा राख्दै २४ घण्टे बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरेका छन्।

    उपराष्ट्रपति कार्यालय लैनचौरमा नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अली अल अन्सारीसँगको भेटमा उपराष्ट्रपतिले मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार, उचित क्षतिपूर्ति र अस्पताल, निर्वासन केन्द्र तथा जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गरे।

    उपराष्ट्रपतिले भने, ‘कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन छन्। म महामहिमलाई आममाफी दिन, जेल सजाय घटाउन तथा कागजविहीन नेपालीलाई नियमित काममा लगाउन वा स्वदेश फर्काउन सहयोग गर्न आग्रह गर्दछु।’

    नेपाल र कतारले विभिन्न बहुपक्षीय र क्षेत्रीय मञ्चमा पारस्परिक हितका विषयमा सहकार्य गर्दै आएकोमा उपराष्ट्रपति यादवले खुसी व्यक्त गरे। साथै, विपीन जोशीलगायत अन्य बन्धकको रिहाइमा कतारले गरेको मध्यस्थताका लागि उनले प्रशंसा व्यक्त गरे।