२२ असार २०८२ आईतबार | 06 Jul 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमसीसीले नेपाललाई सहयोग निरन्तर गर्ने निर्णय, ५० करोड डलर सहायता सुनिश्चित

एमसीसीले नेपालमा कार्यान्वयन भइरहेका परियोजनाहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ८३
  • काठमाडौं, असार १८ - अमेरिकी विकास साझेदार संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा कार्यान्वयन भइरहेका परियोजनाहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।

    बुधबार मिलेनियम च्यालेञ्ज एकाउन्ट–नेपाल (एमसिए–नेपाल) ले विज्ञप्ति जारी गर्दै एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी सरकारबाट विशेष छुट दिइएको जानकारी गराएको हो। वैदेशिक सहायता अस्थायी रूपमा रोक्ने अमेरिकी निर्णयका बाबजुद नेपाल कम्प्याक्ट भने अगाडि बढाइने भएको हो।

    विज्ञप्तिमा भनिएको छ, “अमेरिकी वैदेशिक सहयोगको स्थगन सन्दर्भमा एमसीसी नेपाल कम्प्याक्टलाई निरन्तरता दिने अनुमति दिनेसम्बन्धी अमेरिकी निर्णयलाई एमसिए–नेपालले स्वागत गर्दछ।”

    हालसम्म एमसिए–नेपालले ४०० केभी क्षमताका तीनवटा सबस्टेसन र १८ किलोमिटर लामो प्रसारण लाइनको ठेक्का सम्झौता गरिसकेको छ। अझै बाँकी रहेका २९७ किलोमिटर प्रसारण लाइन र सडक मर्मतका कार्यहरूका लागि खरिद प्रक्रिया अगाडि बढाइएको एमसिए–नेपालको भनाइ छ।

    यसअघि अमेरिकी दूतावासले पनि नेपाल कम्प्याक्टलाई निरन्तरता दिने संकेत दिएको थियो। हालैका दिनमा एमसीसीले नेपालसहित पाँच मुलुकमा सहायता रोक्ने निर्णय नगर्ने अनौपचारिक जानकारी बाहिर आएको छ।

    सुरुमा नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने सम्झौता भएको हो। तर, निर्माण लागत बढेपछि एमसीसीको बोर्डले २०२५ जनवरी २ मा थप ५ करोड डलर दिने निर्णय गरेको थियो। यो निर्णय अमेरिकी कंग्रेससमक्ष पेश गरिएको छ।

    तर, हालको अवस्थामार्फत ५० करोड डलर मात्र उपलब्ध हुने कि ५५ करोड डलर नै सहयोग प्राप्त हुने भन्नेमा प्रस्टता छैन। यद्यपि, सुरुको ५० करोड डलर सहायता भने पक्का भइसकेको सरकारी स्रोतले बताएको छ।

    एमसिए–नेपालले हालसम्म प्रारम्भ भइसकेका पूर्वाधार निर्माणका कामहरू निरन्तर अघि बढाइरहेको र ऊर्जा तथा यातायात क्षेत्रलाई मजबुत बनाउन परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।