१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवन राइनोजद्वारा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित, एनपिएलमा पहिलो हार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो हार ब्यहोरेको छ।



NPL
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २४९
  • काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो हार ब्यहोरेको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा चितवन राइनोजले सुदूरपश्चिमलाई ३३ रनले पराजित गर्दै शानदार जित हासिल गर्यो।

    चितवनको यो लिगको तेस्रो जित हो। यसअघि उसले तीन खेलमध्ये दुईमा जित हासिल गरेको थियो भने एक खेलमा हार बेहोरेको थियो। सुदूरपश्चिम भने यसअघि लगातार तीन खेलमा विजयी हुँदै अपराजित रहेको थियो।

    आइतबारको खेलमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा मात्र १३१ रनमा अलआउट भयो।

    सुदूरपश्चिमका ओपनर सइफ जइब १८ रनमा र विनोद भण्डारी १० रनमै आउट भए। त्यस्तै, ब्रान्डन माक्मलेनले १३ रन र दिलप्रित बजवाले १२ रन मात्र जोड्न सके। कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भए भने आरिफ शेख ४ रन र नरेश बुढाऐर ५ रनमै पेभिलियन फर्किए।

    इशान पाण्डेले भने ३५ रन बनाए। उनले २८ बलमा ४ चौका र १ छक्काको मद्दतले आफ्नो पारी खेले। नरेन राउदले १० रन र स्कट कुगेलेइनले १६ रन जोडे।

    बलिङतर्फ चितवनका रिजन ढकाल, कुशल मल्ल, लोफ्टी इटन र अमरसिंह रटेउलाले उत्कृष्ट प्रदर्शन गर्दै २-२ विकेट लिए।

    यस जितसँगै चितवनले लिगको शीर्ष स्थानमा उक्लने सम्भावना बलियो बनाएको छ भने सुदूरपश्चिमको अपराजित यात्रामा रोक लागेको छ।