काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले ६ विकेट गुमाउँदै १७५ रन बनायो।
कर्णालीका जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बलमा ६ चौका र २ छक्कासहित ५३ रन बनाए। बोसिस्टोले पनि ३९ बलमै ३ चौका र २ छक्कासहित ५२ रन जोडे।
चाडविक वाल्टनले अविजित ४६ रनको महत्वपूर्ण योगदान गरे। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, जिसन मक्सुदले १४ रन थपे। तर, ओपनर रित गौतम र गुल्सन झाले खाता खोल्न सकेनन्।
चितवनका बलरहरूबाट सोहेल तनविरले २ विकेट लिए भने रवि बोपारा र कप्तान कुशल मल्लले समान १ विकेट झारे।
यस खेलको विजेता टोली क्वालिफायर टु मा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। लिग चरणमा कर्णालीले चितवनलाई पराजित गरेको इतिहास दोहोर्याउन खोज्दै छ।
प्रतिक्रिया दिनुहोस