काठमाडौँ, पुस २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुछिएपछि लामिछाने अदालतमा बयान दिन पुगेका हुन्।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो। तर, पोखराबाट काठमाडौँ आउँदा ढिला भएकोले उनी आज अदालतमा हाजिर भएका हुन्।
अदालतमा लामिछानेको बयान पछि थुनछेक बहस हुने छ। बहसपछि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेबारे अदालतले आदेश दिनेछ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा पहिले नै धरौटीमा रिहा भइसकेका छन्।
यस मुद्दामा लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी र अन्य ३७ जनालाई प्रतिवादी बनाइएको छ।
लामिछानेविरुद्ध अन्य सहकारी संस्थाहरू जस्तै रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन, र पर्साको सानो पाइला सहकारीमा पनि ठगी अभियोगमा मुद्दा दर्ता गर्न तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस